Successfully Copied

चलचित्र : हँसिया

रोनाधोना, कमेडी, मायाप्रेम एवं टिनएजर लभको वरिपरि घुमिरहेको नेपाली चलचित्र उद्योगमा जेठ ९ गते प्रदर्शन हुने हँसियाले

रोनाधोना, कमेडी, मायाप्रेम एवं टिनएजर लभको वरिपरि घुमिरहेको नेपाली चलचित्र उद्योगमा जेठ ९ गते प्रदर्शन हुने हँसियाले बेग्लै धारको प्रतिनिधित्व गर्नेछ। सस्पेन्स-थ्रीलर चलचित्र हँसिया फिमेल एक्सनमा आधारित छ। बालदर्शकले अभिभावकको निगरानीमा हेर्नुपर्ने यो चलचित्रमा महानायक राजेश हमाल प्रहरी अपराध अनुसन्धान अधिकृतका रूपमा तथा म्यान हन्ट अनुपविक्रम शाही खलनायकका रूपमा प्रस्तुत भएका छन्। डेब्यु नायिका हेमाको स्टन्टका कारण पनि यो चलचित्रले चर्चा बटुलेको छ। रियल लाइफ मार्सल आर्ट खेलाडी हेमाको एक्सन सँगै अभिनय पनि प्रशंसनीय छ। मिलन चाम्सले निर्देशन गरेको यो चलचित्र दुर्गा घलेले निर्माण गरेका हुन्।

क्यासेट : भ्वाइस अफ काभ्रे

काभ्रेली कलाकार समाजले काभ्रेका १४ जना गायक तथा ब्यान्डलाई समावेश गरेर भ्वाइस अफ काभ्रे एल्बम बजारमा ल्याएको छ। पप तथा आधुनिक गीतहरू समावेश गरिएको यो सीडीमा भगवान् सागर भैल, सुरेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, रविन्सन श्रेष्ठ, सञ्जीव तामाङ, श्रीकृष्ण मानन्धर, प्रविनदेव पन्थी, द भोमिज आइज, राजेश बोलाखे, सुमन बैद्य, दीपेश बादे, सन्तोष ताम्राकार तथा विंग्स ब्यान्डको स्वर समावेश छ। एल्बममा भूषण भोमी, विजय सापकोटा, रविन्सन श्रेष्ठ, पुष्पराज पौडेल, सुमन बैद्य, सुरज पलाञ्चोके, शिवहरि दाहाल, नकुल कार्की आदिको शब्दमा शुभबहादुर श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, सुमन बैद्य, सुरज पलाञ्चोके तथा  सुमन सचिन आदिको संगीत सुन्न सकिन्छ। यो एल्बमको मूल्य २ सय रुपैयाँ छ।

कला : हिमाल चिनाउँदै सन्ध्या

केही महिनाअघि बुद्धको मुहार चित्र बनाएर सन्ध्या रेग्मीले राष्ट्रियता र आध्यात्मिकतालाई बहसमा ल्याएकी थिइन्। कलावृत्तमा त्यसको चर्चा सेलाउन नपाउँदै उनले फेरि राष्ट्रियता झल्कने अन्य कलाकृति प्रदर्शनीमा ल्याइन्। आठ महिनाको मेहनतपछि हिमाली शृंखलाका चित्र लिएर उनी गत महिना नेपाल आर्ट काउन्सिलको ग्यालरीमा प्रस्तुत भइन्। एक दशकदेखि भियतनाम बस्दै आएकी रेग्मीले कला प्रदर्शनीको शीर्षक 'अनन्त आकाशमा ऐश्वर्यपूर्ण गौरवान्वित मेरो देश नेपाल' राखेकी छिन्। उनका अनुसार बुद्ध र हिमाल नेपाललाई चिनाउने सदाबहार विम्ब हुन्।

पुस्तक : सिर्जना शर्माको गोल्डेन गेट

कथाकार तथा बाल साहित्यमा अग्रणी  सिर्जना शर्माले पहिलो पटक उपन्यास विधामा कलम चलाएकी छिन् जसको फलस्वरूप गोल्डेन गेट उपन्यास बजारमा आएको छ। शर्माले महिलाहरूको जीवन र भोगाइलाई लिएर यो उपन्यास तयार पारेकी हुन्। महिलाहरू घरबाहिर आउनु जरुरी छ तर बाहिर निस्कँदा के-कस्ता चुनौती छन् भन्ने कुरा उपन्यासमा देखाइएको छ। उपन्यास भए पनि अंश-अंश छुट्याइएकाले पढ्न सजिलो तथा रोचक छ। मुख्य पात्र महिमा काठमाडौंबाट अमेरिका पुग्दासम्मका घटना तथा उनले बेहोर्नुपरेका चुनौती एवं उनले गरेको संघर्षलाई उपन्यासमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। अक्षर क्रिएसन्स नेपालद्वारा प्रकाशित यो पुस्तकको मूल्य २ सय ९० रुपैयाँ छ।

 Image