Successfully Copied

के-टु आरोहणमा प्रथम-नेपाली महिला टिम

कहिलेकाहीँ मुटु ढक्क फुलेर आउँछ, डर लाग्छ, गएपछि र्फकने हो कि होइन भन्ने चिन्ताले सताउँछ

कहिलेकाहीँ मुटु ढक्क फुलेर आउँछ, डर लाग्छ, गएपछि र्फकने हो कि होइन भन्ने चिन्ताले सताउँछ र पनि नेपाललाई संसारभर चिनाउने ध्येयले जोस-जाँगर उर्लिएर आउँछ-संसारकै सर्वाधिक जोखिमपूर्ण हिमालमध्ये एक मानिने पाकिस्तानको के-टु आरोहणको तयारीमा जुटिरहेका तीन नेपाली नारीले यसरी आफ्नो अनुभव सेयर गरे। संसारका सर्वाधिक अग्ला चौधवटा हिमालको पनि हिमाल मानिने के-टु आरोहणमा मर्ने-बाँच्ने ठेगान हुँदैन किनभने यो संसारको सबैभन्दा जोखिमपूर्ण अनि हिउँको ९० डिग्री ठाडो उकालोयुक्त हिमाल हो, जहाँ हिउँका थुप्रै ठाडा बाटा पार गर्नुपर्छ।  ८ हजार ६ सय ११ मिटर अग्लो पाकिस्तानको के-टु आरोहणका लागि फस्र्ट नेप्लिज वुमन के-टु एक्सपिडिसनमा माया शेर्पा (३५), दावा ग्याम्जुम शेर्पा (२४) तथा पासाङ ल्हामु शेर्पा (२९) सम्लग्न छन्। बाल्यकालदेखि नै हिमालसँग साक्षात्कार गर्दै आएका यी युवतीहरूसँग जोखिमयुक्त हिमाल यात्राको अनुभव भने छ। विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका यी युवतीले वुमन क्लाइम्बिङ फर क्लाइमेट चेन्जको नारासहित १ करोडको बजेटमा के-टु आरोहण गर्न लागेका हुन्। टोली संयोजक माया शेर्पा भन्छिन्-हिमालमा बेमौसममा हिउँ पग्लिएर स्थानीय मानव बस्तीलाई नै असर पुर्‍याउने अवस्था छ। हिमालमा बसोबास गर्ने जनता समयमा पानी नपर्नाले बाली लगाउन सकिरहेका छैनन्। हिउँ पर्ने बेलामा पर्दैन, नपर्ने बेलामा पर्छ। अफ सिजनको झरी र वर्षाले खेतीपाती नष्ट हुन्छ। जलवायु परिवर्तनको असर हिमाली भेगमा बसोबास गर्ने नेपालीहरूमा मात्र नभएर हाम्रो सिंगो पर्यटनमा पनि पर्ने भएकाले हामीले यो सन्देश अन्य मुलुकमा पुर्‍याउनु जरुरी छ। त्यस्तो असर रोक्न के-कस्ता प्रयास गर्नुपर्छ भन्ने चेतना जगाउनु हाम्रो आरोहणको मूल उद्देश्य हो।

सन् २००२ मा के-टु आरोहणमा गएका २५ जनामध्ये ८ जना मात्र फर्किए बाँकी १७ जनाको आरोहणकै क्रममा मृत्यु भयो। आजसम्म कुनै पनि महिला टिमले के-टुको आरोहण गरेको छैन। व्यक्तिगत रूपमा केही मुलुकका सीमित महिलाले उक्त हिमाल आरोहण गरे पनि नेपाली महिलाले के-टु आरोहण गर्न लागेको यो पहिलो अवसर हो। आरोहणमा खारिएका टिमका तीनै जना महिलाले जोखिम अनि रमाइला घटनाका अनेकौं अनुभव सँगालेका छन्। टिम संयोजक माया शेर्पासँग हिमाल आरोहणको १० वर्ष लामो अनुभव छ। संसारकै सुन्दर हिमालको उपमा पाएको आमा डब्लम, सर्वोच्च शिखर सगरमाथा, आइल्यान्ड पिक आदि हिमाल चढिसकेकी माया शेर्पा हिमाल चढ्नुलाई जीवनको साहसिक यात्रा भन्न रुचाउँछिन्। के-टु आरोहणको योजना कसरी तय भयो भन्ने विषयमा माया भन्छिन्-आजसम्म के-टुको यात्रामा महिलाको टिम गएको छैन। अर्को कुरा नेपाली महिला आजसम्म त्यहाँ पुग्न सकेका छैनन्। हामी नेपाली आरोहणमा अर्को इतिहास कोर्न चाहन्छौं। त्यसैले यो जोखिम मोलेका हौं।

२४ वर्षीया दावा ग्याम्जुम शेर्पा टिमकी अर्की अब्बल तथा अनुभवी सदस्य हुन्। दोलखाको ६ हजार २ सय मिटर अग्लो अत्यन्तै गाह्रो चेकी-गो हिमाल चढ्ने प्रथम नेपाली महिला दावाले खुम्बुको आमा-डब्लम, ५ हजार मिटर अग्लो खुम्बुकै आइल्यान्ड पिक तथा लाङटाङको याला पिक अनि तिब्बतको ८ हजार ६ सय ११ मिटर अग्लो छोयुको सफल आरोहण गरिसकेकी छिन्। अमेरिकाको माउन्ट रेनियरमा रेस्क्यु रेन्जरको प्रथम नेपाली महिलाका रूपमा काम गरिसकेकी दावा ग्याम्जुम हिमाल चढ्दा बलभन्दा बुद्धि बढी प्रयोग गर्नुपर्ने बताउँछिन्। प्राय: हिउँ परिरहने माउन्ट रेनियर हिमाल ४ हजार ५ सय मिटर अग्लो छ। रेस्क्युका लागि चौबीसै घन्टा स्ट्यान्डबाइ बसिरहनुपर्ने उनको काममा बढी नै जोखिम थियो। सुरुमा रहरले तर कालान्तरमा आएर व्यावसायिक रूपमा हिमाल चढिरहेको बताउने दावा हाल ३ वर्षे इन्टरनेसनल माउन्टेन गाइड कोर्स गरिरहेकी छिन् जसमा सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञानमा जोड दिइन्छ। यो कोर्स गर्ने ३५ जनामध्ये उनी प्रथम नेपाली महिला हुन्। के-टु आरोहणको तयारीका सम्बन्धमा दावा भन्छिन्- नेपालमा हिमतालहरूको संख्या दु्रत गतिमा बढ्दो छ, जुन फुट्ने प्रबल सम्भावना छ। भोलि दुर्घटना भयो भने हिमाली क्षेत्रका ग्रामीण बस्तीमा ठूलो क्षति पुग्ने मात्र होइन विश्वसमुदायमा नेपालको पर्यटनका सम्बन्धमै नकारात्मक धारणा पनि विकसित हुनसक्छ तसर्थ हामीले बेलैमा सचेत हुनु जरुरी छ। २९ वर्र्षीया पासाङ ल्हामु शेर्पा पनि हिमाल आरोहणमा खारिएकी टिम सदस्य हुन्। उनीसँग सगरमाथालगायत अन्य थुप्रै हिमाल सफलतापूर्वक आरोहण गरेको अनुभव छ।

यी तीनै जना विवाहित हुन्। श्रीमान् तथा परिवारको साथ एवं सहयोग आफ्ना लागि शक्ति भएको उनीहरू बताउँछन्। मायाले भनिन्-हाम्रो योजना र लाग्ने खर्चको विवरण सुनेर परिवारका सदस्यहरूभन्दा पनि अरूले तिमीहरू बहुलाएछौ भन्छन्। परिवार एवं बालबच्चा भएको मान्छे यति कठिन र जोखिमपूर्ण यात्रामा किन जान लागेको भनेर प्रश्न गर्छन्। कहिलेकाहीँ त हो कि जस्तो लागेर मुटु ढक्क हुन्छ तर केहीक्षणमै हामीले अर्को एउटा इतिहास बनाउनुछ भन्ने जोस आउँछ। माया सरकारी निकायबाट सहयोग भन्दा पनि आश्वसन मात्र पाएको बताउँछिन् तर उनीहरूको यो साहसिक यात्रामा निजी क्षेत्रका थुप्रै संघसंस्थाको सहयोग छ। साहसी, निडर तथा शक्तिशाली यी महिलाको सफल यात्राका लागि हार्दिक शुभकामना।

 

 Image