Successfully Copied

निःशुल्क सौन्दर्य सेवा

गत महिना कुलेश्वरस्थित कोरियन किम आरी एन्ड हेयर डिजाइन सैलुन एन्ड ट्रेनिङ होमका २० जना ब्युटिसियनले माइती नेपालमा

गत महिना कुलेश्वरस्थित कोरियन किम आरी एन्ड हेयर डिजाइन सैलुन एन्ड ट्रेनिङ होमका २० जना ब्युटिसियनले माइती नेपालमा आश्रति ७० जना महिलालाई निःशुल्क सौन्दर्य सेवा प्रदान गरे । दुई दिन चलेको उक्त सेवाकार्यमा हेयर कटिङ, हेयर कलरिङ एवं थ्रेडिङ सेवा उपलब्ध गराइएको थियो।

महिला कलाकारहरू सम्मानित

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघको पाँचौं साधारणसभामा १२ जना महिला कलाकारलाई परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले सम्मान प्रदान गरेका छन्। सम्मान पाउने कलाकारहरूमा ज्वाला सम, उर्मिला गर्ग, शारदा चित्रकार, रागिनी उपाध्याय, डा. सिमा शाह, चन्दा श्रेष्ठ, एरिना ताम्राकार, विधाता केसी, जस्मिन राजभण्डारी, मदनकला कर्ण, बिन्दु श्रेष्ठ तथा सौरगंगा दर्शनधारी छन्। मन्त्री पाण्डेले कार्यक्रममा सम्मानित कलाकारहरूले तयार पारेको कलासहितको भित्तेपात्रो पनि लोकार्पण गरेका थिए। विगत चार वर्षदेखि कलाकार सम्मान र उनीहरूले सिर्जना गरेको कला समावेश गरेको भित्तेपात्रो सार्वजनिक गर्दै आएको र आगामी दिनहरूमा पनि यस्तो सम्मानलाई निरन्तरता दिइने संघका महासचिव प्रेम श्रेष्ठले बताए।

इन्टेरियर प्रतिस्पर्धा

'हाम्रो सिर्जना, हाम्रो नमुना' नारा दिएर आईईसी कलेज अफ आर्टका विद्यार्थीहरूले गत वैशाखको तेस्रो साता दुईदिने इन्टेरियर डिजाइनको प्रदर्शनीमार्फत आफ्नो कला प्रस्तुत गरे। विद्यार्थीहरूको थेसिसको प्रोजेक्टका लागि आयोजित उक्त प्रतियोगितामा २४ जना विद्यार्थीले भाग लिएका थिए। होटल याक एन्ड यतीमा सम्पन्न कार्यक्रममा विद्यार्थीले कुनै पनि ठाउँलाई आफ्नो डिजाइन स्किलमार्फत त्यसलाई नमुना रूपमा प्रस्तुत गर्नुपर्ने थियो। प्रतिस्पर्धामा विकासोन्मुख राष्ट्र नेपालमा भएका सम्भावना र चेतना जागृत गराउने खालका इन्टेरियर डिजाइनका नमुनाहरू प्रस्तुत गरिएका थिए। उक्त कार्यक्रममा तिन जना विद्यार्थी पुरस्कृत भए, जसमा एलिसा डंगोल नाइट क्लबको नमुना तयार गरेर पहिलो भइन् भने, एनजिल अवाले नेवारी घर बनाएर दोस्रो तथा मुभि थिएटर नमुना आर्ट गरेर सुशोभित रञ्जीतकार तेस्रो भए।

सौन्दर्यकला व्यवसायीद्वारा ऋण सुविधा माग

श्रम तथा रोजगार राज्यमन्त्री टेक बहादुर गुरुङले सामान्य कामका लागि पनि विदेशी भूमिमा पुगेर दुःख पाउनुभन्दा स्वदेशमै आत्मनिर्भर हुने खालका सीपमूलक कार्यमा लाग्न महिला व्यवसायीहरूलाई सुझाव दिएका छन्। गत महिना आयोजित सौन्दर्यकला व्यवसायीका सिर्जनशील हातहरूको संघ (एबीसी ह्यान्ड्स) की संस्थापक अध्यक्ष सीता न्यौपाने (पाठक) सहित करिब एक दर्जन सौन्दर्यकला व्यवसायीसँगको भेटमा मन्त्री गुरुङले त्यस्तो सुझाव दिएका हुन्। उक्त भेटमा सौन्दर्यकला व्यवसायीहरूले सौन्दर्य व्यवसायका लागि बिनाधितो ऋण उपलब्ध गराउन माग गरेका थिए।

महिला बेचबिखनको कारण असमानता

हालै सार्वजनिक भएको एक प्रतिवेदनले लैंगिक तथा सामाजिक असमानता एवं गरिबीले महिला बेचबिखन हुने गरेको निष्कर्ष निकालेको छ। युनिभर्सिटी अफ सेफिल्डका प्राध्यापक पउल विसेल, सोही विश्वविद्यालयकै प्राध्यापक डा. पदम सिंखडा एवं अनुसन्धान सहायक सारा देवकोटाले गरेको 'भारत र खाडी राष्ट्रमा महिला र महिला कामदार बेचबिखनको अवस्था' शीर्षक अध्ययनले उक्त निष्कर्षको निकालेको हो।

९१ नेपाली युवतीको उद्धार

कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनःस्थापना गृहले नौ महिनाको अवधिमा ९१ जना युवतीको उद्धार गरेको छ। भारतीय सीमा क्षेत्रबाट २०७० साउनदेखि वैशाखसम्ममा ती युवतीको उद्धार गरिएको हो। दलालको प्रलोभनमा परी भारतका विभिन्न ठाउँमा बेचिएका ११ युवती र भारततर्फ लान लागिएका ८० युवतीलाई सीमाक्षेत्रबाट उद्धार गरेको पीआरसी संयोजक भूमी भट्टराईले बताइन्।

बलात्कारविरुद्ध जागरण अभियान

'हाम्रा नानीहरूलाई बलात्कारबाट जौगाऔं, बलात्कार बन्द गरौं' भन्ने नाराका साथ चलाइएको अभियान ललितपुरको ठेचो गाविसस्थित सरस्वती उच्च माध्यामिक विद्यालयमा  सम्पन्न भयो। कार्यक्रमबाट सहभागीहरूले बलात्कारबाट जोगिने उपाय, बल्ाात्कारीलाई हुने सजाय, अदालती कार्यवाही आदिका सम्बन्धमा जानकारी हासिल गर्ने अवसर प्राप्त गरेका थिए। नेपाल महिला न्यायाधीश मञ्चकी अध्यक्ष पूर्वन्यायाधीश शारदा श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सर्वाेच्च अदालतकी न्यायाधीश सुशील कार्की, विद्यालयका प्रधानाध्यापक विष्णुनारायण श्रेष्ठ, विद्यालयका संस्थापक एवं पूर्वन्यायाधीश शम्भुबहादुर कार्की तथा चापागाउँ वृत्तका महानगरीय प्रहरी उपरीक्षक दुर्गा सिंह आदिको उपस्थिति थियो।

आमाबुबाको नाममा निःशुल्क स्वास्थ्य शिविर

वरिष्ठ स्त्री एवम् प्रसूति रोग विशेषज्ञ डा. मीरा हाडाले आफ्ना बुबा वीरेन्द्रबहादुर हाडाको स्मृति तथा आमा तारादेवी हाडाको स्वास्थ्यलाभको कामना गर्दै गत महिना एघारौं निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न गरेकी छिन्। काठमाडौंको दक्षिणी भेगस्थित शेषनारायणमा आयोजित उक्त स्वास्थ्य शिविरमा महिला स्वास्थ्यसम्बन्धी विभिन्न समस्या भएका २ सय २८ बिरामीको निःशुल्क उपचार गरिएको थियो। डा. हाडाले काठमाडौको दक्षिणी भेगमा १८ वर्षदेखि हालसम्म १० हजार बिरामीको स्वास्थ्योपचार गरिसकेको बताएकी छिन्।

महिलाले खोले स्वास्थ्य सहकारी

ग्रामीण क्षेत्रका नागरिकलाई सरल रूपमा स्वास्थ्य सेवा दिने उद्देश्यले इलाममा स्वास्थ्य क्षेत्रका महिलाहरूले 'दीर्घायु' स्वास्थ्य  सहकारी खोलेका छन्। इलामको मंगलबारे, जीतपुर, शान्तिडाँडा, धसेनी एवं बरबोटे गाविसलाई कार्य क्षेत्र बनाएर खोलिएको उक्त सहकारीमा सरकारी तालिमप्राप्त स्वास्थ्य स्वयंसेवी, अनमी, सिएमए तथा स्वास्थ्य क्षेत्रमै क्रियाशील २५ जना महिलाको सहभागिता छ। २ लाख ४० हजार पूँजीयुक्त सहकारीमा नौजना महिला सञ्चालक छन्।

 Image