Successfully Copied

चलचित्र : वल्र्ड कप इन नेपाल

नेपालको एउटा गाउँमा फुटबल खेल्ने किशोरहरूको विश्वकप खेल्ने सपनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको चलचित्र 'वल्र्ड कप इन नेपाल'

नेपालको एउटा गाउँमा फुटबल खेल्ने किशोरहरूको विश्वकप खेल्ने सपनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको चलचित्र 'वल्र्ड कप इन नेपाल' यही वैशाखमा प्रदर्शनमा आउने भएको छ।  नेचुरल मुभी मेकर्सको ब्यानरमा निर्माण गरिएको यो चलचित्रलाई प्रकाश थापा तथा राम तामाङले निर्माण गरेका हुन्। चलचित्रमा गिरिप्रसाद पुन, गोपाल अर्याल, संगम राई, सपन घिमिरे, सागर लामा आदिको मुख्य भूमिका छ। चलचित्र विकास बोर्डले विशेष फिल्मका रूपमा पुरस्कृत गरेको यो चलचित्रमा जुगल डंगोलको संगीत सुन्न सकिन्छ।

क्यासेट : दर्शनाको आमा नेपाल

'मै छोरी सुन्दरी...' गीतकी गायिका भारती उपाध्यायकी नातिनी दर्शना महर्जनले सन्देशमूलक गीति एल्बम 'आमा नेपाल' बजारमा ल्याएकी छिन्। भर्खरै दस वर्षमा प्रवेश गरेकी दर्शनाले उक्त एल्बममा सन्देशमूलक बाल गीत प्रस्तुत गरेकी छिन्। भविष्यमा सफल गायिका हुने सपना बुनेकी दर्शनाको स्वरले सबैको मन जित्न सक्ने देखिन्छ। उक्त एल्बममा ५ वटा गीत तथा दुईवटा ट्रयाक समावेश छन्। एल्बममा कञ्चन लामा, राजेन्द्र श्रेष्ठ, चन्द्रकला नेवार, वासुदेव  ढुंगेल, राजेश राजका शब्द तथा भारती उपाध्याय, राजेन्द्र श्रेष्ठ, चन्द्रकला नेवार एवं राजेश राजको संगीत छ। युथ क्रियसन उत्पादक तथा वितरक रहेको यो एल्बमको मूल्य २ सय ५० रुपैयाँ छ।

कला : जस्मिनको महिला खुसी

महिलाहरू आज पनि घरमै सीमित हुने परिवेशलाई कलाकार जस्मिन राजभण्डारीले चित्रमार्फत प्रस्तुत गरेकी छिन्। यो चित्रमा आफ्ना भित्री अनुभूति र कुराहरू सुनाउने मानिस नहुँदा पानी लिन पधेंरो जाँदा साथीसंगीसँग गरिने भलाकुसारी र त्यसमै उनीहरू रमाउने भावना प्रस्तुत गरिएको छ। चित्रमा रातो, पहेंलो, हरियो एवं प्याजी रंगको संमिश्रणद्वारा महिलाहरूको सौन्दर्य उजागर गर्ने प्रयास गरिएको छ। दुई महिलालाई चित्रण गरिएको यो कलाकृतिमा गाग्रीमार्फत ग्रामीण परिवेशको झझल्को दिन खोजिएको छ र पानी लिन जाँदा वा लिएर र्फकने क्रममा बाटामा महिलाहरू कसरी आफ्ना भावना साटासाट गर्छन् भन्ने कुरा दर्शाइएको छ।

पुस्तक : शान्ति शर्मा ताराको जुनीमा

सानैदेखि साहित्यिक वातावरणमा हुर्किएकी शान्ति शर्माले टक्सार विभागको जागिरबाट अवकाश प्राप्त गरेपछि साहित्यिक यात्रालाई पुनः अघि बढाएकी हुन्। जुनीमा कथासंग्रहमा जम्मा २० वटा कथा समावेश छन्। वि.सं. २०६९ मा सुरुचि उपन्यास बजारमा ल्याएकी शर्माको यो कथा संग्रहमा महिला, पारिवारिक परिवेश, सामाजिक वास्तविकता, पात्रहरूको जीवन एवं प्रकृतिको वर्णन यथार्थपरक छ। साधना घिमिरेले प्रकाशन गरेको यो संग्रहको व्यक्तिगत मूल्य ३ सय तथा संस्थागत मूल्य ५ सय रुपैयाँ राखिएको छ।

 Image