Successfully Copied

नयाँ वर्षमा स्वनिर्णय

संकल्प नयाँ वर्षको सुरुवातमै लिइन्छ। कुनै पनि कुराको थालनी गर्न नयाँ वर्षको पहिलो दिन उपयुक्त हुन्छ।

संकल्प नयाँ वर्षको सुरुवातमै लिइन्छ। कुनै पनि कुराको थालनी गर्न नयाँ वर्षको पहिलो दिन उपयुक्त हुन्छ। आफ्नो आत्मविश्वाको वृद्धि पनि यही दिनदेखि गर्न सकिन्छ। कुनै पनि कुरा बिनासंकल्प पूरा हुन सक्दैन। त्यसैले नयाँ वर्षकै दिनबाट आत्मविश्वासमा वृद्धि तथा नयाँ कामको थालनी गर्न सकिन्छ। यो विगतका कमी-कमजोरी तथा गल्ती सुधार्ने राम्रो अवसर पनि हो।

सबै मानिसको जीवनमा राम्रो-नराम्रो एवं सुख-दु:ख आइरहन्छ। त्यसैले सबै परिस्थितिको सामना गर्न सक्ने क्षमता हुनुपर्छ अनि मात्र सफलता हात पर्छ। समय निरन्तर चलिरहन्छ र उमेर पनि वृद्धि हुन्छ। युवावस्थाको जस्तो जोस-जाँगर बुढ्यौलीमा हुँदैन। त्यसैले समय-समयमा आफ्नो क्षमतामा निखार ल्याउने तथा आफूलाई अपडेट राख्ने काम गरिरहनुपर्छ। त्यसो गर्दा आत्मविश्वास बढ्छ। आत्मविश्वास र आत्मसम्मान खस्कदै गए कामप्रति वितृष्णा तथा व्यवहारमा पनि फरकपन आउँछ।

झूटो बोल्नुहुँदैन  

ढाँट्ने बानी छ भने त्याग्नुपर्छ। अरूलाई ढाँटे पनि आफ्नो मनमा ढाँटेको भन्ने कुरा रहिरहन्छ। त्यसरी ढाँट्दा आत्मविश्वासको कमी हुन्छ। ढाँटेको कुरामा कसैले आफ्नो बचाउ गर्न सक्दैनन् र सम्भव पनि हुँदैन।

नकारात्मक कुरामाथि विचार गर्नुपर्छ

कुनै पनि नराम्रो कुरा हुन सक्ला वा हुनेछ भनेर चिन्ता लिने बानी छ त्याग्नुपर्छ। यस्ता कुरा आफ्नो जीवनमा घटे कसरी त्यसको समाधान गर्ने मनन गर्नुपर्छ। आत्तिनु हुँदैन।

संगीत सुन्नुपर्छ

संगीतले सबैलाई आनन्द दिन्छ। संगीतमा भएको शक्तिले सबै कुरा बिर्साएर ताजा महसुस गराउँछ। यसले उत्प्रेरणा एवं ऊर्जा दिन्छ।

नयाँ कुरा सिक्नुपर्छ

आफ्नो लक्ष्यमा पुग्न नयाँ-नयाँ जीवनोपयोगी कुरा सिक्नुपर्छ। यसबाट पुनर्ताजगी प्राप्त हुनुका साथै नयाँ कुरा सिक्न सकिन्छ। यसले काममा नयाँपन ल्याउँछ।

उपलब्धि सम्झनुपर्छ

लामो तथा क्षणिक लक्ष्यका लागि तालिका बनाउनुपर्छ। सानो भए पनि दिनहुँ आफूले  हासिल गरेका उपलब्धिहरू सम्झनुपर्छ र त्यसमा मन्थन गर्नुपर्छ।

ध्यान गर्नुपर्छ

जतिसुकै व्यस्त भए पनि दिनको १५ मिनेट ध्यान गर्नुपर्छ। बिहान सबेरै उठेर मनलाई शान्त राखेर ध्यान गर्दा भित्रैदेखि शान्ति मिल्छ। ध्यानले दिनभर गरिने काममा जोस-जाँगर थपिन्छ भने अनुहारमा पनि चम्किलोपन आउँछ।

शारीरिक अभ्यास गर्नुपर्छ

दिनमा आधा घन्टा भए पनि व्यायाम गर्नुपर्छ। व्यायामले सम्पूर्ण शरीरलाई तन्दुरुस्त बनाउँछ। शरीर फिट हुन्छ र आत्मविश्वास पनि बढ्छ।

सिर्जनशील बन्नुपर्छ

नयाँ-नयाँ कुरा सिक्नुपर्छ, प्रयोगहरू गर्नुपर्छ। नयाँ कुरा सिक्न उत्सुकता देखाउनुपर्छ। उत्सुकताले नयाँ कुरा सिकिनुका साथै जीवन्त रहन सकिन्छ। उमेर वृद्धिसँगै उत्सुकतामा ह्रास आउन थाल्छ। त्यसैले उत्सुकता जोगाइराख्न बच्चाजस्तै केही कुरा सिक्ने इच्छा राख्नुपर्छ। यसले सिर्जनशील र प्रयोगात्मक बनाउँछ।

असल मानिसको संगत गर्नुपर्छ

खराब मानिसको संगत गर्दा खराब र असल मानिसको संगतले असल बनिन्छ। त्यसैले असल र ठूला मानिसहरूको आत्मवृत्तान्त पढ्नुपर्छ। कहिलेकाहीँ डकुमेन्ट्री, सिनेमा तथा नाटक हेरेर आफूलाई रिफ्रेस गराउनुपर्छ।

शरीर नियन्त्रण गर्नुपर्छ

मुटुको धड्कने बढे वा खुट्टा काम्न थाले शान्त हुनुपर्छ। बिस्तारै हिँड्नुपर्छ। शान्त भएर बोल्नुपर्छ। हतार गरे शरीर नियन्त्रणमा नभएको जस्तो देखिन्छ। शान्त रहे हरेक कुरा कुशलतापूर्वक सम्पन्न गर्न सकिन्छ।

विगतका सकारात्मक कुरा सम्झनुपर्छ

विगतमा भएका खुसीको समय, पललाई सम्झनुपर्छ। खुसी महसुस गरे आफ्नो क्षमता रिचार्ज हुन्छ। नोस्टाल्जियामा रमाउँदा आनन्द आउनुका साथै सकारात्मक सोच पैदा हुन्छ।

स्वयंलाई माया गर्नुपर्छ

अरुका लागि मात्र नभएर आफ्ना लागि पनि समय दिनुपर्छ। यसले रमाइलो महसुस हुन्छ। आफूलाई के गर्दा खुसी लाग्छ त्यही गर्नुपर्छ।

केही नयाँ कुरा गर्नुपर्छ

दिनहुँ केही न केही नयाँ कुरा गरिरहनुपर्छ। आफूलाई गर्न मन लागेको कुरा गरिहाल्नुपर्छ। गर्न लागेको काममा दत्तचित्त भए सफलता हासिल गर्न सकिन्छ। कुनै पनि नयाँ काम आत्मविश्वासका साथ थालनी गर्नुपर्छ।  

धन्यवाद लिन वा दिन बिर्सनु हँुदैन  

सबैको राम्रो कामको प्रशंसा गर्नुपर्छ। कसैबाट काम लिँदा धन्यवाद दिनुपर्छ। कसैले धन्यवाद दिए आफूले पनि धन्यवाद दिन बिर्सनुहुँदैन। यसले निकटता कायम राख्न सघाउनुका साथै व्यक्तित्वमा सकारात्मक  परिवर्तन देखा पर्छ।

कुरा संकल्पका

करिअर छनोट गर्नु तथा यसमा निरन्तर कायम रहनु र अलग पहिचान बनाउनु फरक कुरा हुन् । उन्नतिका लागि केही संकल्प गर्नु एवं त्यसको कार्यान्वयन आवश्यक छ । प्राविधिक दक्षता नै करिअरको बाटोमा सफल हुने एक मात्र मन्त्र हो भन्ने सोच्नु गलत हो। यो एक अनिवार्य पक्ष हुन सक्छ तर अन्तिम भने हुँदैन । सम्बन्धित क्षेत्रमा प्रतियोगिताका लागि सम्पर्कको योग्यता आवश्यक छ तर त्यसभन्दा पनि आफ्ना सहकर्मीसित कस्तो सम्बन्ध राखिन्छ, आफ्नो बोससित कस्तो व्यवहार गरिन्छ त्यो बढी महत्वपूर्ण हुन्छ।

-    कुरा सुन्ने बानी बसाल्नुपर्छ । सुन्ने बानीले विचार आदान-प्रदान गर्ने शैली र नयाँ सोचको विकास हुन्छ ।

-    बोल्न हतार गर्नु हुँदैन । विचार गरेर मात्र बोल्नुपर्छ ।

-    रिस र आवेग नियन्त्रण गर्नुपर्छ । यो घरको मामिला होइन । सम्बन्ध बनाउन जति समय लाग्छ, बिगार्न त्यो भन्दा कम समय भए पुग्छ।

-    सम्पर्क कायम राख्न इमेल र फोन प्रयोग गर्न सकिन्छ ।

-    मिटिङमा बसेर मात्र हुँदैन, आफ्नो उपस्थिति जनाउन कुनै पनि अवसरलाई हातबाट जान दिनु हुँदैन । आफ्नो योग्यता, दूरदर्शिता तथा सोचलाईर् सही ढंगमा प्रस्तुत गर्नुपर्छ ।

-    अरूको सहायता गर्न सधैं तत्पर रहनुपर्छ । आफ्नो सम्पर्कलाईर् विस्तार गर्नुपर्छ । आफ्नो कोठामा मात्र सीमित नरहेर त्यो भन्दा बाहिर पनि संसार भएको कुरा बुझ्नुपर्छ ।

-    भनिन्छ-संसार सानो छ । कुन मोडमा को आफूसामु आएर उभिन्छ थाहा नहुन सक्छ। त्यसैले नजिकको साथी होस् वा तत्कालीन सहयोगी, सबैसित राम्रो सम्बन्ध राख्नुपर्छ ।

-    हरेक नोकरीको विज्ञापन निस्कदैन । यो स्थितिमा यदि आफ्नो सम्बन्ध सम्बन्धित व्यक्तिसित राम्रो छ भने नोकरीका लागि धेरै परिश्रम गरिरहनुपर्दैन । समय-समयमा पुरानो सम्बन्धलाई नवीकरण गरिरहनुपर्छ ।

-    करिअरको कुनै पनि क्षेत्र कम्प्युटरको प्रभावबाट अछुतो छैन । यही माध्यमबाट आफूलाईर् बाहिरी संसारसित जोडेर राख्न सकिन्छ । अत: फुर्सदको समय कम्प्युटरमा बिताउनु राम्रो हुन्छ साथै कम्प्युटरको बढीभन्दा बढी सिस्टम जान्ने प्रयास गर्नुपर्छ। यसबाट आफ्नो कामका लागि अरूमाथि निर्भर रहनुपर्ने बाध्यता हुँदैन । लामो समय अघि बढ्ने नोकरी हरेकका लागि आरामदायी हुन्छ । यसमा परिचित वातावरण, निश्चित कार्यक्रम, परिचित व्यक्ति हुने हुनाले चिन्ताको अरू कुरा रहँदैन । तर जब व्यक्तिले बढी आराम खोज्न थाल्छ तब समस्या पर्छ । संसारका कुनै पनि नोकरीले आराम गर्नका लागि पैसा दिँदैनन्। काम गर्ने शैली फरक हुन सक्छ तैपनि निरन्तर काम गर्नु सफलताको पहिलो सर्त हो ।

-    कामका सम्बन्धमा व्यक्तिको इच्छा-अनिच्छाभन्दा पनि संस्थाले चाहेअनुसार गर्नुपर्ने हुन्छ। अत: मन लगाएर काम गर्नुपर्छ । काम गर्दा लाज, अप्ठ्यारो मान्नु हुँदैन । कर्तव्यबोध हुनु आवश्यक छ ।

-    सहकार्य गरेर संगठित रूपमा काम गर्नुपर्छ । आफ्ना सहकर्मीहरूसित सहयोगी वातावरण कायम राख्नुपर्छ । आवश्यकताअनुसार एक-अर्काको मद्दत गर्नुपर्छ । कार्यक्षेत्रमा मित्रता कायम गर्नुपर्छ यद्यपि अनावश्यक आत्मीयता दर्साउनु खतरनाक हुनसक्छ ।

 Image