Successfully Copied

महिलाका पक्षमा भएका राम्रा काम

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला हिंसा, अधिकार, सशक्तीकरण मुख्य विषयका रूपमा जोडिएर आउँछन्

हरेक वर्ष महिलाका पक्षमा भएका राम्रा कामको विश्लेषण गर्दा महिला हिंसा, अधिकार, सशक्तीकरण मुख्य विषयका रूपमा जोडिएर आउँछन् तर यसपटक एउटा ऐतिहासिक कार्य पनि सम्पन्न भयो-संविधानसभा-२ को निर्वाचन। महिलाको मात्र नभएर महिला-पुरुष तथा समग्र राष्ट्रको विकासको मूलद्वार मानिएको यो निर्वाचनले अब बन्ने संविधानमा सबैको हक सुनिश्चितताको ढोका खोलिदिएको छ। राज्यस्तरबाटै महिलाका धेरथोर विषय संविधानभित्र अवश्य पर्ने भएकाले संविधानसभा-२ को निर्वाचन सफलताका साथ सम्पन्न हुनुलाई महिलाका पक्षमा भएका राम्रा कामभित्र राख्न सकिन्छ। यसै विषयसँग जोडिएर आउने अर्को सन्तोषजनक कुरा महिलाहरू उम्मेदवार चयन सचेत देखिनु पनि हो जुन महिला मतदाताको सहभागिताले प्रस्ट्याउँछ। त्यसका अतिरिक्त बढीभन्दा बढी महिला उम्मेदवारीका निम्ति महिलाका सरोकारमा काम गर्ने विभिन्न संघसंस्थाको पहल पनि उल्लेखनीय रह्यो।

वि.सं. २०७० सालमा महिलाका पक्षमा त्यति धेरै काम नभए पनि जति भए ती प्रभावकारी छन् र ती महिला तथा समाजमा पार्ने असर वा सामाजिक रूपान्तरणको मार्गनिर्देश बनेका छन्। राष्ट्रिय महिला आयोगकी सदस्य मोहना अन्सारीका अनुसार राम्रामध्येको राम्रो काम भनेको दोस्रो संविधानसभाको निर्वाचनमा थोरै नै भए पनि महिलाहरू संविधान निर्माण प्रक्रियामा पुग्नु हो। कानुनी रूपमा भएको राम्रो काम एकद्वार संकट निवारण केन्द्र (ओसिस) को स्थापना हुनु हो। अन्सारी भन्छिन्-महिला जागरणमा पनि २०७० सालमा प्रगति भएको छ। महिला मुद्दाका विषयमा त्यति धेरै सन्तोष गर्ने ठाउँ नभए पनि महिला सचेतना एवं विकासका थोरबहुत काम भएका छन्।

जागरण नेपालकी अध्यक्ष तथा गैसस महासंघकी निर्वाचित अध्यक्ष शर्मिला कार्की भन्छिन्-\'हामीले पहिलो संविधानसभालाई सफल पार्न नसके पनि भारतजस्तो लोकतान्त्रिक मुलुकमा समेत ११ प्रतिशत महिला सदनमा भएको अवस्थामा हाम्रो मुलुकको दोस्रो निर्वाचनमा लगभग ३० प्रतिशत महिला पुग्नु नराम्रो कुरा होइन। पहिलेको मात्रा घटे पनि ३० प्रतिशत सहभागिता खराब नै चाहिँ होइन।\' अर्को कुरा शान्ति प्रक्रियाको परिणामअनुसार छापामार महिलाहरू क्रमश: समाजमा पुनस्र्थापित भए त्यो पनि उपलब्धिको कुरा हो।

शक्ति समूहकी सुनीता दनुवार पनि २०७० सालमा थुप्रै महिला मतदाताको पहलमा संविधान सभा निर्वाचन सम्पन्न हुनुलाई गौरवको विषय मान्छिन्। महिलाहरूमा सचेतना आएकै कारण बेचबिखनमा पर्नेहरूको संख्या घटेको उनको भनाइ छ।

सञ्चार तथा अधिकारकर्मी वन्दना राणालाई गत वर्ष महिलामा उल्लेख्य मात्रामा सचेतना आएको छ भन्ने लाग्छ। चाहे राजनीतिमा होस् वा आफ्ना अधिकारका पक्षमा बोल्ने कुरा होस् महिलाहरू निक्कै जागरुक भएका छन्। हिंसा सहेर बस्ने नेपाली नारीहरू हिंसाविरुद्ध आवाज उठाउन सफल भएको राणा बताउँछिन् तर ३३ प्रतिशत महिलाको सहभागिता संविधान निर्माणमा पुग्न नसकेकोमा उनलाई दु:ख लागेको छ। जनताले विवेक प्रयोग गरेर सफल भएको संविधानसभा निर्वाचन भन्न रुचाउने राणा यसलाई जनता ग्रयाजुयट भएको दिन भन्न रुचाउँछिन्।

अधिवक्ता मीरा ढुंगाना संविधान सभा-२ को निर्वाचनमा महिला मतदाताको संख्या पुरुषको भन्दा बढी हुनुलाई महिला जागरुकताको संज्ञा दिन्छिन्। त्यस्तै २०७० चैत १० गते बाबु हराए वा बेपत्ता भए पनि आमाको नाममा नागरिकता दिने सर्वोच्चको फैसला महिलाका लागि उपलब्धिको विषय भएको उनको भनाइ छ।

युवा नेतृ सिर्जना अधिकारीलाई २०७० को सबैभन्दा ठूलो उपलब्धि संविधानसभा निर्वाचन सम्पन्न हुनु नै हो भन्ने लागेको छ। तथापि ३३ प्रतिशत महिला सहभागिता नपुग्नुलाई उनी विडम्बना मान्छिन्। अधिकारी भन्छिन्-\'उल्लेख्य मात्रामा महिला जागरण आएकाले यो वर्षलाई महिला चेतनाको वर्षका रूपमा लिन सकिन्छ।\'

कसले के गरे ?

जागरण नेपाल : जागरण नेपालद्वारा संविधानसभा निर्वाचन हुनुभन्दा केही महिनाअघि मुलुकका २५ जिल्लामा निर्वाचनमा महिला उम्मेदवार बढाउने तथा महिला भोटिङ राइट्सको विषयमा सचेतना जगाउने काम भयो। जसको परिणामस्वरूप ती जिल्लाहरूबाट करिब ८० जना महिलाको नाम समानुपातिकको सूचीमा पर्न सफल भयो। जागरण नेपालले अहिले पनि दलित तथा मधेसी महिलाहरूका साथै कर्णालीका पाँचै जिल्लामा मतदाता शिक्षाका लागि विविध काम गरिरहेको छ।   

राष्ट्रिय महिला आयोग : वि.सं. २०७० मा राष्ट्रिय महिला आयोगले लैंगिक निर्वाचन अनुगमन गर्‍यो जसमा भोट खसाल्दा लाइनमा बस्ने, निर्वाचनका क्रममा महिला शौचालयको निरीक्षण गर्ने, महिला प्रहरी परिचालनलगायत महिला सहभागिताका अन्य विषय समावेश थिए। यसै वर्ष आयोगले १८ बुँदे महिला सार्वभौम माग पेस गर्‍यो जसका कतिपय बुँदा धेरै दलको घोषणापत्रमा उठाइएको छ। आयोगले महिला हिंसासँग सम्बन्धित घटनामा घटनास्थलमै पुगेर जाँचबुझ गर्ने काम पनि सम्पन्न गर्‍यो। नागरिकतामा विभेदपूर्ण कानुनका विरुद्ध पनि महिला आयोगले थुप्रै काम गरेको छ। महिला हिंसाको उजुरी लिने कामलाई निरन्तरता दिइरहेको आयोगमा गत चैतसम्म घरेलु हिंसाका १ सय ७४ तथा महिलामाथि भएका अन्य हिंसाका ९२ वटा उजुरी परेका छन्।

शक्ति समूह : एसियाको नोबल पुरस्कार मानिने म्यागासेसे पुरस्कारबाट सम्मानित शक्ति समूहले स्वयं बेचबिखनमा परेर पनि समाजमा स्थापित भै सामाजिक रूपान्तरण गर्न सफल भएकाले २०७० सालमा यो पुरस्कार हात पारेको हो। गत वर्ष संस्थाले बेचबिखनमा परेर फर्किएकाहरूको कानुनमा पहुँच एवं सामाजिक असरका विषयमा अनुसन्धान गर्ने काम गर्‍यो। समूहले २० भन्दा बढी मुलुकको सहभागितामा महिला तथा मानव बेचबिखनविरुद्ध अन्तर्राष्ट्रिय कार्यशाला पनि सम्पन्न गर्‍यो। त्यसका अतिरिक्त शक्ति समूहले बेचबिखनबाट जोगिन सचेतनामूलक कार्यक्रमअन्तर्गत किशोर-किशोरीलाई तालिम दिएर उनीहरूलाई नै परिचालन गर्ने काम पनि गर्‍यो।

वुमन एक्ट : गत वर्ष वुमन एक्टले मुलुकका २३ जिल्लामा कानुन निर्माण प्रक्रियामा युवा तथा महिलाहरूको सहभागिताका लागि विविध अन्तक्रिर्या, गोष्ठी, कार्यशाला सम्पन्न गर्‍यो। जसले युवा तथा महिलामा कानुनी जागरण एवं सचेतना ल्याउने काममा सहयोग पुर्‍यायो। शान्ति प्रक्रियामा महिलाको सहभागिताका विषयमा यो संस्थाले मुलुकभर सञ्जाल विस्तार गर्‍यो। महिलालाई नीति निर्माण तहमा पुर्‍याउन दबाब सिर्जना गर्ने, वकालत गर्ने काम गर्‍यो। वातावरण संरक्षणका लागि जिरो वेस्ट कार्यक्रम सम्पन्न गर्‍यो। वुमन एक्टले महिलाका लागि वातावरणीय फाइदाका विषयमा क्याम्पेनिङ तथा विविध कार्यक्रम पनि सम्पन्न गरेको छ। यो संस्थाले फर्पिङमा प्लास्टिकका बोतलको नमुना ट्वाइलेट बनाउने कामसमेत ७० सालमै गर्न भ्यायो।

सञ्चारिका समूह : पत्रकार महिलाको हक, हित एवं सुरक्षाका लागि कार्यरत संस्था सञ्चारिका समूहले २०७० सालमा महिला मुद्दामा केन्दि्रत रही रेडियो र टेलिभिजन कार्यक्रम तथा समानताका लागि संचार नाराका साथ अनलाइन सेवा सुरु गर्‍यो। पाँचै विकास क्षेत्रमा यसले पत्रकारहरूलाई लैंगिक हिंसाका विषयमा तालिम संचालन गर्‍यो। त्यसबाहेक अधिकारका लागि वकालत, फिचर राइटिङ तालिका एवं पत्रकार सुरक्षा कार्यक्रम पनि सञ्चारिका समूहले २०७० सालमा महिलाका पक्षमा गरेका काम हुन्।

साथी : साथीले गतवर्ष लैंगिक हिंसाको ५ वर्षे योजनाअन्तर्गत सरकारलाई स्थानीय तहमा जवाफदेही बनाउन विभिन्न कार्यक्रम सम्पन्न गर्‍यो। साथीले २०७० सालमै पीडित मात्र नभएर पीडक पुरुषहरूसँग पनि काम गर्ने नयाँ पहल थालनी गर्‍यो। लैंगिक तथा महिला हिंसा घटाउन, पुरुषलाई पनि यस विषयमा सचेत र जागरुक बनाउन यो संस्थाले फुटबल र क्रिक्रेट खेलाडीहरूसँग सहकार्य गरेको छ। महिलाविरुद्धको हिंसा रोक्न एवं परिवर्तन ल्याउन संस्थाले फुटबल र क्रिक्रेटजस्ता पुरुषले खेल्ने लोकप्रिय खेल रोजेको हो। साथी संस्थाले महिला एवं शान्ति र सुरक्षाका विषयमा पनि विविध कार्यक्रम संचालन गरिरहेको छ।

महिला कानुन र विकास मञ्च : महिलाका विभिन्न विषयलाई कानुनी मान्यता दिन लागिपरिरहेको महिला कानुन र विकास मञ्चले गतवर्ष महिलाका पक्षमा थुपै्र कानुनी सुधारमा पहल गरेको थियो। यसै वर्ष संस्थाको पहलमा निरन्तर सुनुवाइसम्बन्धी मुद्दा दायर भयो जसभित्र पीडितले छिटो-छरितो रूपमा न्याय पाउनुपर्ने कुरा उल्लेख छ। घरेलु हिंसा, मानव बेचबिखन पनि निरन्तर सुनुवाइभित्र पर्छन्। यसले महिला हिंसा कम गर्ने हुनाले सबै अदालतले यसको कार्यान्वयन गर्नु भन्ने सर्वोच्चको आदेश छ। यही आदेशको प्रभावकारी कार्यान्वयनका लागि महिला कानुन र विकास मञ्चले सरकार, सरोकार संघसंस्था तथा विभिन्न दलहरूसँग छलफल चलाइरहेको छ। महिला कानुन र विकास मञ्चले साक्षी संरक्षणसम्बन्धी दायर गरेको मुद्दामा २०७० सालमै सर्वोच्च अदालतले फैसला सुनायो। जसमा बहसका बेला पीडितका लागि साक्षी आउनेलाई यातायात तथा दैनिक भत्तास्वरूप ना.सु. सरहको बजेट विनियोजन गरिनुपर्ने कुरा उल्लेख छ।

रक्षा नेपाल : क्याबिन रेस्टुराँ, डान्स बार, मसाज सेन्टरजस्ता अन्य स्थलमा कार्यरत जोखिममा परेका महिला श्रमिकको हक, हित र सुरक्षाका लागि रक्षा नेपालको प्राविधिक सहयोगमा श्रमिक महिला संघको स्थापना भयो जसमा ७ सय जना महिला आबद्ध छन् । स्थापना कालदेखि रक्षा नेपालबाट पुनस्र्थापित भएका महिला एवं किशोरीहरूलाई संगठित गर्दै संस्थाले  रक्षा निगरानी समूह गठन गरेको छ जसले कार्यक्षेत्रमा हुने सबै खालका हिंसा अन्त्यका लागि नेतृत्व गर्ने एवं पीडित, प्रहरी र संस्थाबीच समन्वयात्मक भूमिका निर्वाह गर्छ । आजसम्म रक्षा नेपालले १ सय ७४ जना महिलालाई पुनस्र्थापना गर्‍यो । १२ जना महिलाको अंश मुद्दा अदालतमा दर्ता गरेर अगाडिको प्रक्रियामा छ, त्यस्तै एउटा वैवाहिक बलात्कारको केसलाई अदालतबाट छिनोफानो गरेर पीडित महिलालाई विदेश पढ्न पठाइयो ।

 Image