Successfully Copied

विन्टरमा ग्ल्यामरस स्मार्ट

जाडो महिना मलाई त्यति मन पर्दैन। एक त भनेजस्तो पहिरन र गेटअपमा हिँड्न नपाइने, अर्को चिसोले गर्दा काममा अल्छी लाग्ने तथा बच्चा पनि

जाडो महिना मलाई त्यति मन पर्दैन। एक त भनेजस्तो पहिरन र गेटअपमा हिँड्न नपाइने, अर्को चिसोले गर्दा काममा अल्छी लाग्ने तथा बच्चा पनि सानो भएकाले उसलाई केयर गर्न अलि कठिन हुन्छ। जाडोमा म प्रायः पाइन्ट नै लगाएर हिँड्छु। म कटराइज तथा भित्र फल भएको पाइन्ट लगाउँछु जसले गर्दा असजिलो हुने गरी स्टकिङ लगाउने झन्झट हटेको छ। कटन तथा ऊलनको हाइनेक माथि मिडियम कोट लगाउँछु। दिउँसो घाममा मफलर र कोट खोलेर पनि बस्न सकिन्छ। धेरै चिसो छ वा बिहानै निस्कनुपर्‍यो भने पञ्जा तथा टोपी पनि लगाउँछु। कहिलेकाहीँ फरक देखिन ऊलनको स्कर्ट र स्टकिङ लगाउँछु। जुत्तामा मिडियम फ्ल्याट बुट नै लगाइरहेकी हुन्छु जसले गर्दा हिँड्न सजिलो हुन्छ। पार्टीका लागि मैले यसपटक ३-४ जोर लुगा बनाएकी छु। भेल्भेटको फुल स्लिभको फरक कलरका केही गाउन बनाएकी छु। भित्रबाट स्टकिङ पनि लगाउन मिल्ने भएकाले यस्ता गाउन न्याना हुनुका साथै तिनले स्मार्ट र ग्ल्यामरस देखिन समेत सहयोग गर्छन्। मैले पश्मिनाको सलवार-कमिज पनि बनाएकी छु। साडी नै लगाउनुपर्ने पार्टी छ भने भेल्भेट तथा ऊलनको स्टाइलिस्ट ब्लाउज लगाउँछु र वर्क गरेको म्याचिङ सल बोक्छु।

अरुणिमा लम्साल, नायिका

चिसो सहनै सक्दिन। त्यसैले जाडोको अनुभव हुनासाथ न्याना पहिरन खोज्न थाल्छु। जाडो वा गर्मी जुनसुकै बेला पनि जिन्स लगाउँछु तर जाडोमा भित्र स्टकिङ लगाउँछु। मलाई भी नेकको स्वेटर तथा छोटो स्वीट स्वेटर मन पर्छ। म कहिल्यै लङ स्वेटर लगाउँदिन, त्यसैले छोटा स्वेटर देख्नासाथ किनिहाल्छु। त्यसको माथिबाट ओभरकोट अनि म्याचिङ बुट लगाएर निस्कन्छु। जाडो भए पनि टोपी भने लगाउन सक्दिन तर चुज पाइन्टमा मफलर र एङ्गलेट म्याचिङ गरेर लगाउन मन लाग्छ। त्यसले न्यानो मात्र हुँदैन स्टाइलिस्ट देखिन तथा बाइक चलाउन धेरै सहयोग पुग्छ। मसँग मफलर र एङ्गलेटको राम्रो कलेक्सन छ।  बुटमा हिल मन पर्दैन। त्यसैले म प्रायः फ्ल्याट बुट नै लगाउँछु। कहिलेकाहीँ वेज हिल बुट लगाउँछु।

भिन्तुना जोशी, नायिका

जाडोको आगमनसँगै म कसरी अझै आकर्षक देखिन सक्छु भन्ने कुरामा ध्यान दिन्छु। यसपटक म लङ बुटमा लङ स्वेटर, मफलर तथा कोट लगाएर हिँड्दैछु। मेरो आफ्नै फेसन स्टोर पनि भएकाले यसपटक के-कस्ता पहिरन बजारमा आइरहेका छन् मलाई त्यसको जनकारी छ। अहिले ऊलन वान पिसमा ज्याकेट वा सर्ट कोट लगाएर हिँड्दैछु जसले न्यानो प्रदान गर्नुका साथै स्टाइलिस्ट  पनि देखाउँछ। यसले मलाई सजिलो समेत भएको छ। जिन्सभन्दा लेगिन्स र फल भएको पाइन्ट नै सजिलो लाग्छ। सधैं एउटै लुक्समा भन्दा सकेसम्म चेन्ज देखिने प्रयास गर्छु।  

आगन्तुक खरेल

चिसोले सताइहाल्ने भएकाले जाडो मौसम नआए पनि हुन्थ्यो भन्ने लाग्छ तर त्यो सम्भव हुने कुरै भएन। त्यसैले जाडोबाट बच्ने प्रयासमा हुन्छु। यसपालि ब्लेजरको लङ तथा छोटा कोट लगाइरहेकी छु। म जाडोमा जिन्स लगाउँदिन। लेगिन्समा लङ ड्रेस, लङ स्वेटर लगाएर बाहिरबाट कोट लगाउँछु। एकदमै जाडो भयो भने भित्र वार्मर तथा तातो हुने पातलो स्वेटर पनि लगाउँछु। जाडोमा मफलर नलगाई हिँड्न सक्दिन। मसित हरेक कलर तथा जातका मफलरको कलेक्सन छ। ऊलन, पश्मिना तथा हातैले बुनिएका मफलर सधैंजसो लगाउँछु। जुत्तामा बुट तथा क्लोज सुजहरू लगाउँछु। चिसोले सबैभन्दा पहिले खुट्टा र घाँटी  समात्ने भएकाले त्यसलाई जोगाउने उपाय गर्छु। हिजोआज स्टाइलिस्ट देखिने जाडोका पहिरन प्रशस्तै भित्रिएकाले धेरै सजिलो पनि भएको छ।

सिम्पल खनाल, मोडल

म सानैदेखि जाडोमा रमाउने मान्छे हुँ। जाडोमा मफलर, टोपी अनि ज्याकेट लगाएर हिँड्दा आफू राम्री भएको महसुस हुन्छ। अहिले पनि जाडो मौसम आउन लागेको अनुभव भयो कि जाडोका आउटफिट किन्न मल तथा पसल पुगिहाल्छु। अहिले भनेजस्ता डिजाइनका न्याना लुगा आइरहेका छन्। जिन्सपे्रमी भएकीले जाडोमा बाक्ला तथा भित्र भुवा भएका जिन्स लगाउँछु। अहिले भर्खरै बजारमा भित्रिएको कलरफुल छोटो ज्याकेट मलाई सार्‍है मन परेको छ। केही समयअघि मात्र केही ज्याकेट र बुट किनेकी थिएँ। हाई हिल बुट, जिन्स, ज्याकेट वा छोटो कोट लगाएर कलरफुल मफलर तथा टोपीमा हिँड्दा आफू विशेष भएझैं लाग्छ। हिजोआज जाडोको पहिरनमा पनि आफूले खोजेजस्तो डिजाइन, मूल्य, कलर तथा साइज उपलब्ध भएकाले ग्ल्यामरस लुक्स प्राप्त गर्न पहिले जस्तो गार्‍हो छैन।

नम्रता सापकोटा, नायिका

 Image