एक्लो सन्तान हुर्काउन सहज भए पनि यसको नकारात्मक असरसमेत देखिन थालेको छ । एउटा सन्तान हुर्काउन सजिलो हुन्छ भन्ने दम्पतीहरू अहिले एक्लो सन्तान हुर्काउन कति कठिन छ भनेर चर्चा गर्न थालेका छन् ।
सानो परिवार, सुखी परिवार ।
थोरै भए पुगिसरी ।
दुई सन्तान ईश्वरका वरदान ।
यस्तै मान्यतालाई आत्मसात् गर्दै नेपाली दम्पतीले एक वा दुई सन्तानमा चित्त बुझाउन थाले । थोरै सन्तान भए उनीहरूलाई पालनपोषण गर्न, शिक्षादीक्षा दिन सहज हुन्छ भन्नेमा थुप्रै दम्पतीको ध्यान गयो । हुन पनि कुनै पनि दम्पती मिलेर एउटा सन्तान हुर्काउन सहज हुने देखियो । यसबाट आर्थिक बोझसमेत कम हुने भयो ।
दम्पतीको सोचअनुसार एउटा सन्तानलाई पोषणयुक्त खानेकुरा ख्वाउन सकिन्छ, राम्रो विद्यालयमा पढाउन सकिन्छ, उसका आवश्यकताहरू पूरा गरिदिन सकिन्छ ।
अर्कातिर अहिले महँगी आकासिएको छ । घर–परिवारको आवश्यकता पनि बढेको छ । यस्तो अवस्थामा सीमित कमाइले धेरै छोराछोरी हुर्काउन–बढाउन कठिनसमेत हुँदै गएको छ ।
यद्यपि एक्लो सन्तान हुर्काउन सहज भए पनि यसको नकारात्मक असरसमेत देखिन थालेको छ । एउटा सन्तान हुर्काउन सजिलो हुन्छ भन्ने दम्पतीहरू अहिले एक्लो सन्तान हुर्काउन कति कठिन छ भनेर चर्चा गर्न थालेका छन् । एउटा सन्तान हुर्काउन अहिलेका अभिभावकलाई फलामको च्युरा चपाउनुजस्तै कठिन हुँदै गएको छ ।
एक्लो सन्तानको साइड इफेक्ट
एक्ला सन्तान धेरै पुलपुलिएर हुर्किएको पाइन्छ । उनीहरूलाई आमाबुवाले बढी महत्व दिने भएकाले मैले जे गरे पनि हुन्छ, मैले जे मागे पनि पाउँछु भन्ने भावना विकास भएको मनोविद्हरू बताउँछन् ।
चीनमा एक दम्पतीले एउटा मात्र सन्तान जन्माउन पाउने नीति लागू भएपछि त्यसको असर निकै भयावह देखिन थाल्यो । त्यहाँका एकल सन्तानमा आत्मविश्वासको कमी, प्रतिस्पर्धात्मक भावनाको अभाव, खतरासँग वा चुनौतीसँग जुध्न नसक्ने मनोबल एवं निराशापूर्ण मनस्थिति प्रबल पाइयो । त्यसैगरी उनीहरू समाज र परिवारसँग पनि घुलमिल हुन नसकेको पाइयो ।
सन् १९७० तथा १९८० सम्म जसरी संयुक्त परिवारमा शिशुहरू हुर्कन्थे त्यसपछि भने उनीहरू सानो परिवारमा हुर्कदै गएको बीबीसीको एक रिपोर्टमा उल्लेख गरिएको थियो ।
छैनन् साहिँला–साहिँली
पहिले–पहिले एक दम्पतीका दर्जनको हाराहारीमा सन्तान हुन्थे । जेठा–जेठी, माहिला–माहिली, साहिँला–साहिँली, काहिँला–काहिँली, अन्तरे–अन्तरी, जन्तरे–जन्तरी यो क्रम कान्छा–कान्छीसम्म पुग्दा आठ–दस जना छोराछोरी हुन्थे ।
अहिले साहिँला–साहिँली, अन्तरे–अन्तरी होइन, माहिला–माहिली पनि छै्रनन् । एक वा धेरैमा दुई जना सन्तान मात्र जन्माउने चलन छ । त्यसैले अहिले हुर्किरहेको पुस्तालाई सन्तानको यो हाँगाबिँगाका सम्बन्धमा कुनै ज्ञान छैन । उनीहरूका लागि माहिला, माहिली, साहिँला, सहिँलीको कुरा एकादेशको कथा हुँदै गएको छ ।
एक्लिँदै बालबालिका
हिजोआजका प्राय: आमाबुवा कामकाजी हुन्छन् । दुवैले काम नगरी घर–व्यवहार चलाउन गाह्रो पनि हुन्छ । फलस्वरूप उनीहरू दिनभर आ–आफ्नै काममा व्यस्त रहन्छन् भने सन्तान घरमा एक्लै हुन्छन् ।
आमाबुवासँग सन्तानका लागि समय छैन साथै ती बालबालिकाका आफ्नै दाजुभाइ, दिदीबहिनी पनि छैनन् । आफ्नै आमाको कोखबाट जन्मिएका दिदीभाइ, दाजुबहिनी भए उनीहरू आपसमा खेल्दै, रमाउँदै बस्थे । एक–अर्काका साथी हुन्थे तर अहिले उनीहरूको कोही साथी नै नहुने स्थिति छ ।
पहिले संयुक्त परिवार थियो । एउटै घरमा आमाबुवा, काकाकाकी, बाजेबोजु हुन्थे । बालबालिका धेरै हुन्थे । छोराछोरीहरू बाजेबोजुसँग खेल्दै हुर्कन्थे । घरमा धेरैजना हुँदा एक–अर्कासँग रमाउँथे । अहिले त्यस्तो अवस्था छैन । दम्पतीहरू अलग बस्न थालेका छन् । उनीहरू सानो परिवारमा बसिरहेका छन् । यसले गर्दा पनि बालबालिकाहरू एक्ला भएका छन् ।
सन्तानले डाँडाकाँडा ढाकून्
कुनै बेला पितापुर्खाले आशीर्वाद दिँदै भन्थे–‘सन्तानले डाँडाकाँडा ढाकून् ।’ आफ्ना शाखा सन्तान सबैतिर फैलिऊन् भनिन्थ्यो । त्यसैले पनि दम्पतीहरू दर्जन हाराहारीमा छोराछोरी जन्माउँथे ।
अहिले टुक्रदै गएको परिवार र एक्लिँदै गएका सन्तानको अवस्थालाई हेर्दा यो आशीर्वाद मनन गर्नुपर्ने भएको छ । अहिले एकभन्दा बढी सन्तान नै प्रभावकारी हुने देखिन थालेको छ । एक दम्पतीले दुई वा तीन सन्तान जन्माए बालबच्चाको सामाजिक विकास राम्रोसँग हुने मनोविज्ञहरूको भनाइ छ ।
दुई वा तीन जना सन्तान छन् भने आपसमा खेल्छन् । उनीहरू खानेकुरा बाँडीचुँडी खान्छन् । खोसाखोस पनि गर्छन् । लुगा छनोट गर्दा पनि प्रतिस्पर्धा गर्छन् । यसरी दाजुभाइ वा दिदीबहिनी एकसाथ हुर्कदा उनीहरू आपसमा खेल्दै, झगडा गर्दै र मिल्दै हुर्कन्छन् । यसले उनीहरूमा प्रतिस्पर्धाको भावना विकास हुने, मेलमिलापको महत्व थाहा हुने, एक–अर्कासँग घुलमिल हुने बानी पर्ने जस्ता थुप्रै गुणको विकास हुन्छ ।