Successfully Copied

देउताले जातीय र लैंगिक विभेद गरेका छैनन

वेद पढ्ने भनेको भगवानका लागि हो । देउताले नै जातीय र लैंगिक विभेद गरेका छैनन् भने अरूको यसमा के वश होला र ? वेद भगवान्मा अर्पण गरेर शुद्ध मनले पढिन्छ जुन कुरा भगवान्ले अस्वीकार गर्छन् भन्ने मलाई लाग्दैन । 

सिलाइ–कटाइको काम गर्ने नरबहादुर तथा सुमित्रा सुन्दासका चारै जना छोरी वेद पढ्छन् । जेठी ममता, माहिली मनिता, साहिँली अनिता र कान्छी मेलिना सानैदेखि अध्ययनलगायत विविध किसिमका क्षमता र कलामा अब्बल थिए । ती चार चेलीमध्ये १९ वर्षीया साहिँली अनितासँग धर्म, जातीय वर्गीकरण, संस्कार–संस्कृति, महिला अनि जीवन र जगत्का सम्बन्धमा नारीको कुराकानी : 

कति वर्षको उमेरमा वेदसँग साक्षात्कार गर्नुभयो ?

७–८ वर्षको उमेरदेखि नै ५ वटा वन्दना स्तुति गर्थें तर बुझेर भन्न थालेको बार्‍ह–तेर्‍ह वर्षको उमेरदेखि हो । 

परिवारमा यो क्षेत्रमा अरू कोही हुनुहुन्थ्यो जसले यसतर्फ बढ्न प्रेरित गर्नुभयो ?

हाम्रा अभिभावकलाई कहिल्यै यस विषयमा ज्ञान र ध्यान थिएन । उहाँहरूले कहिल्यै वेद पढ्नु भएन भने हामीलाई रोक्नु पनि भएन । 

वेदले जातित्वलाई कसरी व्याख्या गरेको छ ?

वेदले यो जात त्यो जात भनेर छुट्याएको छैन । 

वेद वाचनका लागि लिङ्ग र जातिको वर्गीकरण गरिएको छ, यसलाई तपाईं कसरी हेर्नुहुन्छ ?

वेद पढ्ने भनेको भगवान्का लागि हो । देउताले नै जातीय र लैंगिक विभेद गरेका छैनन् भने अरूको यसमा के वश होला र ? वेद भगवान्मा अर्पण गरेर शुद्ध मनले पढिन्छ जुन कुरा भगवान्ले अस्वीकार गर्छन् भन्ने मलाई लाग्दैन । 

वेदमा महिलाको स्थान कहाँ छ ?

स्वच्छ मनले गरिएको कार्यद्वारा महिला हुन् वा पुरुष सबै समान गन्तव्यमा पुग्छन् । कतिपय धर्मग्रन्थमा महिलालाई निकै उच्च स्थानमा राखेको वा तुच्छ स्थानमा झारेका कुराहरू पनि पढ्न पाइन्छ । यद्यपि वेदमा महिलाको स्थान बराबर छ । 

वेद पढ्नेमा पुरुषको संख्या बढी छ, महिला त्यसमा पनि टिनएजर्सले वेद पढ्दा यसमा अरूको दृष्टिकोण कस्तो पाउनुभएको छ ?

धेरैले अनौठो मानेर हेरे पनि किन, कसो भनी प्रश्न गर्ने आँट गरेका छैनन् । बरु प्रेरणा र हौसला नै मिलेको छ । 

कसैले तपाईंको जात र लिड्डलाई विषय बनाएर वेदसँग जोडेर नकारात्मक प्रश्न गर्छ भने तपाईंको जवाफ के हुन्छ ?

भगवान्ले नै छुट्याएका छैनन् भने तपाईंलाई प्रश्न गर्ने अधिकार छैन भन्छु । किनभने हामीले वेद पढेर आजसम्म कुनै नकारात्मक परिणाम आएको छैन । बरु राम्रो मात्र नभएर उत्तम ठहरिएको छ । गरेका हरेक कार्य शुभ भएका छन् । 

नारी शक्तिलाई कसरी व्याख्या गर्नुहुन्छ ?

जुन साहस पुरुषमा छैन त्यो नारीमा छ । महिनावारी हुने, गर्भाधान गर्ने, स्तनपान गराउने विशेष शक्ति बोकेका नारीहरू अवसर र सहयोग पाएको खण्डमा जे पनि गर्न सक्छन् । 

अहिलेको समाजमा नारी शक्तिको अवस्था कस्तो देख्नुहुन्छ ?

एकातर्फ हेर्दा नारी शक्तिको अवस्था मध्यम स्तरमा पुगेजस्तो लाग्छ किनभने महिलाले पनि हामीले जसरी वेद पढ्न थालिसके । अर्कातर्फ हेर्दा कतिपय महिलाको अवस्था अझै नाजुक र दयनीय छ । समाजमा महिलाले बलात्कार, हिंसा, विभेद आदि बढी नै भोग्नु परिरहेको अवस्था छ ।

 

 Image