Successfully Copied

वर्षामा मेकअप

टिनएजदेखि नै मेकअप गरेर हिँड्ने अहिलेको समयमा जो–कोही आफ्नो सुन्दरतासँगै मेकअप प्रोडक्टप्रति पनि उत्तिकै चासो राख्छन् । अरू समयको तुलनामा वर्षामा मेकअप टिकाउन धेरै कठिन हुन्छ । यस्तो मौसममा सोहीअनुरूपको मेकअप गर्न सकिन्छ । मौसम परिवर्तनसँगै मेकअपलाई पनि त्यहीअनुरूप ढालेर आफ्नो सौन्दर्य कायम राख्नुपर्छ । 

टिनएजदेखि नै मेकअप गरेर हिँड्ने अहिलेको समयमा जो–कोही आफ्नो सुन्दरतासँगै मेकअप प्रोडक्टप्रति पनि उत्तिकै चासो राख्छन् । अरू समयको तुलनामा वर्षामा मेकअप टिकाउन धेरै कठिन हुन्छ । यस्तो मौसममा सोहीअनुरूपको मेकअप गर्न सकिन्छ । मौसम परिवर्तनसँगै मेकअपलाई पनि त्यहीअनुरूप ढालेर आफ्नो सौन्दर्य कायम राख्नुपर्छ । 

वर्षामा छाला उक्किनेदेखि छालामा आउने चिल्लोपनले सबैभन्दा बढी दुःख दिन्छ । बिहानको समय वा मेकअपअघि अनिवार्य रूपमा म्याचुरिटी मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यस्तो मौसममा हावामा पनि चिल्लोको मात्रा हुन्छ । त्यसैले आफ्नो मेकअपलाई हल्का र प्राकृतिक लुक्स दिन आवश्यक हुन्छ । यस्तो मौसममा मोइस्चराइजर र फाउन्डेसनको प्रयोगबाट जोगिनुपर्छ । त्यसको विकल्पमा म्याट फिनिसका साथै कम्प्लेक्स नहोस् भनेर इएसपिएफ क्रिमजस्ता टिन्टेड मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । यसले छालाको चिल्लोबाट जोगिन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैगरी स्याडो र ब्लस पनि क्रिमयुक्त नै छनोट गर्नु उपयुक्त हुन्छ ।

मस्कारा नटिक्ने समस्या छ भने वाटरप्रुफ मस्कारा प्रयोग गर्न सकिन्छ । मेकअपलाई फिनिसिङ दिन मिस्ट स्प्रे प्रयोग गर्न उपयुक्त हुन्छ जसले स्किनलाई स्वस्थ राख्न मद्दत गर्छ । बाहिर निस्किरहने काम छ भने म्याट लिपिस्टिक, पाउडर तथा मेकअप किटलाई आफूसँगै राख्नुपर्छ किनभने आवश्यकता पर्नासाथ टच अप गर्न सकिन्छ ।

यस्तो मौसममा वर्षाकै कारण केश झर्ने समस्या पनि हुन्छ । केश झर्नबाट जोगिन ड्राई आयल प्रयोग गर्नुपर्छ । ड्राई आयलले केशलाई पोषण प्रदान गर्नुका साथै केश झर्ने तथा भाँचिने समस्याबाट मुक्ति प्रदान गर्छ । 

वर्षाका लागि घरेलु प्याक 

सुन्दरताका लागि हामी विभिन्न ब्रान्डका क्रिमहरू किन्छौं । त्यस्ता कतिपय प्रसाधनका कारण एलर्जीका साथै स्किनमा समस्या पनि आइरहेको छ । यद्यपि हाम्रो भान्सा कोठामै भएका सामग्रीहरूको उचित प्रयोगबाट पनि विनाकेमिकल सुन्दर देखिन सकिन्छ । 

ओटमिल तथा हनी प्याक : ३ चिया चम्चा ओटमिल, एउटा अण्डाको सेतो भाग, एक चिया चम्चा मह तथा एक चिया चम्चा दही मिसाएर केही समय फ्रिजमा राख्ने । अनुहारलाई सफा गरेर यो प्याक प्रयोग गरी सुकेपछि अनुहार पखाल्ने । 

 

मिन्ट ब्युटी : पुदिनाको पातलाई पिसेर पेस्ट बनाउने अनि त्यसमा आधा केरा म्यास गरी मिसाउने । अनुहारमा प्रयोग गरेको १० मिनेटपछि मनतातो पानीले अनुहार पखाल्ने । 

फेसियल स्क्रब  : चामलको आटा वा बदाम पिसेर पेस्ट बनाउने । त्यसमा दही मिसाउने । १५ मिनेटसम्म अनुहारमा राख्ने । यसबाट अनुहारको राम्रो क्लिज हुन्छ । यसलाई हल्का हातले स्क्रब गरी अनुहार धुनुपर्छ । 

एग फेस प्याक : तैलीय छालामा यो प्याक अत्यन्त प्रभावकारी हुन्छ । एउटा अण्डाको सेतो भागमा एक चिया चम्चा मह मिसाइएको प्याक अनुहारमा लगाएर सुकेपछि पखाल्ने । 

लेमन ब्लिच : आधा मुलालाई म्यास गर्ने । त्यसमा कागतीको रस मिसाएर १० मिनेटजति अनुहारमा राखी सर्कुलर मोसनमा मसाज गर्ने । अन्त्यमा मनतातो पानीले अनुहार पखाल्ने । 

फेसियल टोनर : गुलाबजल र काँक्राको रस मिसाएर फ्रिजमा राख्ने । त्यसमा कटन डुबाउँदै अनुहार पुछ्ने । यो राम्रो होममेड टोनर हो ।

 

छालाको स्याहार 

क्लिन्जिङ, टोनिङ तथा मोइस्चराइजरलाई आफ्नो स्किन केयर रुटिनमा समावेश गर्नुपर्छ । 

स्किनलाई ड्राइनेसबाट जोगाउन अल्कोहल फ्रि टोनर प्रयोग गर्नुपर्छ । 

मनसुनमा पनि छालालाई सनस्क्रिन प्रोटेक्सन आवश्यक हुन्छ, त्यसैले दिनहुँ सनस्किन प्रयोग गर्नुपर्छ । 

बाहिरबाट घर आएपछि चिसो पानीको साटो मनतातो पानीले अनुहार धुनुपर्छ । सातामा दुई पटक स्क्रव गर्नुपर्छ । स्क्रवका माध्यमले मृत छालाबाट छुटकारा प्राप्त हुन्छ । आफ्नो पर्समा टिस्यु पेपर राख्नुपर्छ । बाहिर जाँदा वर्षाले अनुहार भिजे टिस्यु पेपरले अनुहार पुछ्नुपर्छ । यसले इन्फेक्सनको खतरा कम गर्छ । मनसुनमा हेभी मेकअपबाट जोगिनुपर्छ भने वाटरप्रुफ मेकअप नै प्रयोग गर्नुपर्छ । 

अहिले कस्तो मेकअप शैलीको माग छ ?

वर्षाको समय भएकाले पानीले छिटो नबगाउने वाटरप्रुफ मेकअपको माग बढी छ । चाडपर्व नजिक भएकाले पनि वाटरप्रुफ तथा कलरफुल मेकअप नै चल्छ । लाइट किसिमको मेकअपतर्फ भने युवा पुस्ता आकर्षित छ ।

 वर्षामा कस्तो स्टाइलको मेकअप र हेयर उपयुक्त हुन्छ ?

वर्षामा सबैले सजिलोसँग गरिने र सामान्य मेकअप नै मन पराउँछन् । 

 चालीस प्लस महिलाहरूका लागि कुन हेयर स्टाइल आकर्षक देखिन्छ ? 

४० प्लस महिलाका लागि सट हेयर कट उपयुक्त हुन्छ । यो स्टाइलले उनीहरूलाई आफ्नो उमेरभन्दा कम उमेरको देखाउन सहयोग गर्छ । आकर्षक र क्युट देखाउने भएकाले यो हेयर स्टाइल लोकप्रियसमेत छ । छोटो नगर्ने भए ग्राजुएसन हेयर स्टाइल वा वेभी, स्यागी आदि पनि आकर्षक देखिन्छ ।

 वर्षामा कलरफुल मेकअप कत्तिको उपयुक्त हुन्छ ? 

साउनमा महिलाहरू प्रायः व्रत बस्छन् । यतिबेला पहिरनसँग म्याच हुने सिम्पल मेकअप नै राम्रो देखिन्छ । अहिले सामान्य मेकअप नै चल्तीमा छ र उपयोगी पनि । हेर्दा भड्किलो पनि नदेखिने र आफूलाई क्यारी गर्न पनि सहज हुने यो स्टाइलमा सामान्य हिसाबले हरियो, रातो, पहेंलो पिंक र सेतो रंगमा खुलेर मेकअप गर्नु उपयुक्त हुन्छ । यो मेकअपमा मोइस्चराइजर, सन प्रोटेक्सन क्रिम तथा सिम्पल र गुणस्तरीय कस्मेटिक प्रयोग गर्नु स्वास्थ्यका हिसाबले फलदायी हुन्छ । 

 हेयर स्टाइल र मेकअपले मानिसको सौन्दर्यमा कत्तिको प्रभाव पार्छ ? 

लुकअनुसार गरिएको हेयर स्टाइलले व्यक्तिको पर्सनालिटी झल्काउँछ । यदि लुकसँग म्याच हुने हेयर स्टाइल र मेकअप भएन भने मानिसको सौन्दर्यमा केही कुरा नपुगेको हो कि जस्तो महसुस हुन्छ । कि त स्टाइलको आधुनिक शैलीको ज्ञान नभएको हो कि । आफ्नो व्यक्तित्वका बारेमा सामान्य भए पनि जानकारी राख्नु आवश्यक छ ।

 

अहिलेको पुस्तालाई मेकअप र हेयर स्टाइलमा कत्तिको सचेत पाउनुहुन्छ ? 

अहिले हेयर स्टाइल तथा मेकअपमा निकै परिवर्तन आइरहेको छ । अहिले हेयर स्टाइल तथा मेकअप गर्नु भनेको नक्कल पार्नु होइन बरु व्यक्तित्व र स्वास्थ्यका हिसाबले पनि अत्यावश्यक कुरा हो भन्ने मानिसहरूको संख्या तुलनात्मक रूपमा बढ्दो छ । 

रुश्का बैद्य श्रेष्ठ

सौन्दर्यकर्मी, आइटीसी ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर

 Image