Successfully Copied

गुन्यू–चोलो तथा  फरिया जोगाउने अभियान

नेपालमा मात्र होइन विदेशमा पनि दौरा–सुरुवाल, टोपी र गुन्यू–चोलोले विशेष पहिचान बनाएका छन् । नेपालीहरूको पहिचान झल्काउने यी पोसाक सदियौंदेखि स्थापित छन् र आकर्षकसमेत मानिन्छन् ।

नेपालमा मात्र होइन विदेशमा पनि दौरा–सुरुवाल, टोपी र गुन्यू–चोलोले विशेष पहिचान बनाएका छन् । नेपालीहरूको पहिचान झल्काउने यी पोसाक सदियौंदेखि स्थापित छन् र आकर्षकसमेत मानिन्छन् । वि.सं. २०६८ सालसम्म राष्ट्रिय पोसाककै रूपमा रहेका यी पोसाक तत्कालीन सरकारले खारेज गरिदिएको थियो । खारेजीमा परेपछि कतिपय पुरुषले मात्र नभई महिलाहरूले पनि चौबन्दी चोलो र फरिया (साडी) लाई राष्ट्रिय पोसाककै रूपमा स्थापित गराउन अभियान चलाइरहेका छन् । 

लायन्स क्लब अफ काठमाडौं–टेम्पल गणेशमा आबद्ध महिलाहरूले यो अभियानको नेतृत्व गरिरहेका छन् । उनीहरू प्रत्येक नेपाली नयाँ वर्षका दिन विशेष समारोहको आयोजना गर्दै सरकारलाई दबाब दिन राष्ट्रिय सचेतना अभियानमा सरिक हुन सबैलाई आह्वान गर्छन् । अभियानमा आबद्ध निरा बज्राचार्य भन्छिन्–‘इतिहास र नेपाली पहिचान जोगाइराख्नुपर्छ भनेर यो राष्ट्रव्यापी अभियान सुरु गरेका हौं ।’ यो अभियानमा राष्ट्रका उपल्लो तहमा पुगेका जिम्मेवार महिलाहरूलाई पनि समावेश गराएर सचेतना र दबाब सिर्जना गराउनु हाम्रो लक्ष्य हो, उनले भनिन् ।

हुन त प्रत्येक वर्षको पुस १ गते राष्ट्रिय पोसाक दिवस पनि मनाउन थालिएको छ । ‘नेपाली पोसाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारा बोकेको यो दिवसमा पुरुषहरू दौरा–सुरुवाल, कोट, टोपी तथा महिलाहरू चोली, फरियामा सजिएर सहभागी हुन्छन् । महिलाहरूले वैशाख १ गतेलाई राष्ट्रिय सचेतना अभियानका रूपमा गत वर्षदेखि नै मनाउन थालेको लायन्स क्लब अफ काठमाडौं–टेम्पल गणेशमा आबद्ध अर्की अभियन्ता सुचित्रा घिमिरे बताउँछिन् । 

महिलाहरूले सुरु गरेको यो अभियानमा गत वर्ष पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, राजनीतिज्ञ कमल थापा, विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय महासचिव अस्मिता भण्डारी, बरिष्ठ कलाकार वसुन्धरा भुसाल, गायिका मिरा राणा आदिले साथ दिएका थिए भने यो वर्ष पूर्वमन्त्री कमला पन्त, टेलिभिजनकर्मी सन्तोषी अधिकारी, लायन्स क्लबका पिएमसिसी गिरिधारी शर्मा, राष्ट्रिय पोसाक राष्ट्रिय अभियानका राजानन्द मण्डलले साथ दिए । 

पूर्वमन्त्री कमला पन्तले राष्ट्रिय पोसाक देशको धरोहर भएकाले संरक्षण र सम्बर्द्धन गर्नुपर्ने बताउँदै उनले प्रश्न गरिन्, ‘असभ्य बन्दै गएको समाजमा सभ्य बनाउने पोसाकलाई राष्ट्रिय मान्यता दिन किन 

अप्ठ्यारो भयो ?’ लायन्स क्लब अफ काठमाडौं–टेम्पल गणेशले सुरु गरेको गुन्यू–चोलो, फरिया (साडी) राष्ट्रिय सचेतना अभियानमा समर्थन र आबद्धता पनि बढ्दै गएको छ । अभियानका लागि समर्थन जुटाइरहेकी टेलिभिजन प्रस्तोता सन्तोषी अधिकारी भन्छिन्–‘महिलाहरूको मौलिक पोसाकलाई प्रवर्द्धन गरी नेपाली पोसाक चौबन्दी चोलो र फरियालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने वातावरणको तयारीमा हामी सबै जुट्न नसके हाम्रो मौलिकता लोप हुन धेरै समय लाग्दैन ।’

 

 Image